राजसंस्था पुनर्स्थापनाको मागसहित माइतीघरमा राजावादी समूहको प्रदर्शन
काठमाडौँ - राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले आज (शुक्रबार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुने उक्त प्रदर्शनको जानकारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले दिएका हुन्।
यसअघि बिहीबार राजावादी समूहले शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्दै राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना तथा संघीयता खारेज गर्नुपर्ने माग राख्दै अनिश्चितकालीन आन्दोलन सुरु गरिएको घोषणा गरेका थिए। राजावादी आन्दोलनमा राप्रपा, राप्रपा नेपाल, हिन्दू राष्ट्र समर्थक संगठन तथा अन्य राजसंस्था पक्षधर समूहहरूको सक्रिय सहभागिता रहेको छ। संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई शान्तिपूर्ण रूपमै जारी राख्ने जनाएको छ।









