डोटीमा बोलेरो जिप दुर्घटना: एकको मृत्यु, आठ जना घाइते
काठमाडौँ - डोटी जिल्लाको केआईसिंह गाउँपालिका–५, केदारगाउँमा बोगटान गाउँपालिकाबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पालका अनुसार घाइतेहरूमा जिप चालक कैलालीको धनगढी उपमहानगरपालिका–१८, फुलवारी निवासी २४ वर्षीय हरिचन्द्र चौधरी, डोटीको बोगटान फुड्सिल गाउँपालिका–६, गगुडाका ४२ वर्षीय मिनबहादुर बम, ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बीर्मादेवी चन्द, केआईसिंह गाउँपालिका–४, वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३, सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा रहेका छन्।
दुर्घटनामा परी गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका बमलाई शैलेश्वरी अस्पताल, दिपायलमा उपचारका लागि लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा जीप चालकसहित अन्य आठ जना पनि घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ। सबै घाइतेहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









