राष्ट्रियसभाको बैठक मंगलबार १:१५ बजे, भन्सार विधेयक र शोक प्रस्ताव कार्यसूचीमा
काठमाडौं - संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार अपराह्न १:१५ बजे बस्ने भएको छ। बैठकका लागि महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेका सम्भावित कार्यसूचीमा विभिन्न विधेयकहरू र शोक प्रस्ताव समावेश छन्।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त "भन्सार विधेयक, २०८०" माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले "शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०" सम्बन्धमा प्रतिनिधिसभाबाट पारित भएका संशोधनहरूमाथि छलफल र सहमति दिने प्रस्ताव पेश गर्नेछन्।
साथै, संविधानसभा सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य गणेशबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिने जनाइएको छ।









