राजावादीहरूको प्रदर्शन आज सिफल चौर, काठमाडौंमा
काठमाडौं - राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आन्दोलनरत राजावादीहरूले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दिउँसो २ बजेबाट सिफल चौरमा प्रदर्शन सुरु हुने जानकारी दिएका छन्। राजावादीहरूले गणतन्त्र विरोधी अभियानस्वरूप जेठ १५ गतेदेखि निरन्तर प्रदर्शन गरिरहेका छन्।
हिजो सोमबार (जेठ १९ गते) नारायणहिटी दरबार हत्याकाण्डको स्मृतिमा शोक मनाउँदै प्रदर्शन स्थगित गरिएको थियो। त्यस दिन बेलुका दिवंगत राजपरिवारको सम्झनामा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको थियो।
संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा जारी आन्दोलन तबसम्म रोकिने छैन जबसम्म राजसंस्था र हिन्दु राज्य पुनःस्थापित हुँदैनन् भन्ने उनीहरूको भनाइ छ।









