माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले दिए राजीनामा
काठमाडौं - नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन्।
पार्टी स्रोतका अनुसार अध्यक्ष प्रचण्डकै निर्देशनमा साहले राजीनामा दिएका हुन्। मधेश प्रदेशमा माओवादीका ९ जना सांसद रहेका छन् भने तीमध्ये बहुमत सांसदले साहलाई हटाउन दबाब दिँदै आएका थिए।
यद्यपि, अध्यक्ष प्रचण्ड र मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको समर्थनमा रहेका साहले यसअघि राजीनामा नदिने अडान लिएका थिए। तर, पार्टीविरुद्ध गतिविधि गरेको उजुरी अध्यक्ष प्रचण्डसमक्ष आएपछि उनले नै साहलाई राजीनामा दिन निर्देशन दिएको खुलेको छ।
पार्टी नेतृत्वको निर्देशनपछि अन्ततः साहले पद त्याग गरेको स्रोतले जनाएको छ।









