खुकुरी प्रहार गरी छिमेकीको हत्या, अभियुक्त पक्राउ
काठमाडौँ - छिमेकीको हत्या गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का ३२ वर्षीय अर्जुन गुरूङलाई प्रहरीले पक्राउ गरेको छ। उनले सोही स्थानका २८ वर्षीय तेजेन्द्र लिम्वुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
ताप्लेजुङ प्रहरीका अनुसार अर्जुन गुरूङ र उनकी पत्नी फक्ताङलुङ गाउँपालिका–३ मा रहेका नातेदारको घरमा पाहुना गएका थिए। त्यहीँ केही समयपछि उनीहरूबीच विवाद भएको र त्यसपछि नातेदारले दम्पतीलाई सम्झाएर तेजेन्द्र लिम्बुको साथमा घर फर्काइदिएका थिए।
तर घर फर्कने क्रममा अर्जुनले बाटोमै तेजेन्द्र लिम्बुमाथि खुकुरी प्रहार गरेका थिए, जसका कारण लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी बताउँछ।
हत्या गरेपछि फरार रहेका अर्जुन गुरूङलाई प्रहरीले फुङलिङ–९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।









