दसैंका लागि आजदेखि सुकिला नोट सटही सुरु, असोज १० गतेसम्म सुविधा
काठमाडौं — दसैंलाई लक्षित गर्दै आजदेखि सुकिला नोट सटही सुरु भएको छ। असोज १० गतेसम्म सटही गर्न सकिनेछ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट उपलब्ध हुनेछन्। साथै अधिकांश वाणिज्य बैंकहरूले पनि ग्राहकहरूलाई यो सुविधा दिने व्यवस्था मिलाएका छन्।
राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेका अनुसार, यसअघि झैं एक व्यक्तिले अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म सुकिला नोट साट्न सक्नेछन्। ५, १०, २०, ५० र १०० दरका एकरएक बण्डल नोट साट्न पाइनेछ। साना दरका केही नोट नयाँ समेत उपलब्ध हुने जनाइएको छ।
नेपाल राष्ट्र बैंक स्थापनापूर्व (२०१३ सालअघि) नेपालमा भारतीय मुद्राको प्रभुत्व रहँदै आएकोमा २०१५–१६ सालदेखि दसैंलाई लक्षित गरी नयाँ नोट वितरण थालिएको थियो। यसले नेपाली मुद्राको चलनचल्ती बढाउन महत्वपूर्ण योगदान गरेको बताइन्छ।
हाल भने नयाँ नोट छाप्न महँगो पर्ने भएकाले राष्ट्र बैंकले केही वर्षयता प्रणालीमै रहेका सुकिला नोट मात्रै वितरण गर्दै आएको छ। एक नोट छाप्न करिब रु. १.४० देखि रु. ४.६८ सम्म लागत पर्ने भएकाले वार्षिक करोडौं खर्च हुने गरेको छ।
यसरी दसैंका बेला सुकिला नोट वितरणमार्फत अर्थतन्त्र सहरबाट गाउँतर्फ सर्ने र उपभोगमा हुने वृद्धिलाई सहज बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ।









