धनुषामा मस्जिद तोडफोडविरुद्ध वीरगन्जमा मुस्लिम समुदायको प्रदर्शन
काठमाडौँ- धनुषाको धनुकमला–६, सखुवा मरानस्थित मुस्लिम टोलमा शनिबार अज्ञात समूहले मस्जिद तोडफोड गरी पवित्र ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विरोधका स्वर उठेका छन्।
यसको विरोधमा वीरगन्जका मुस्लिम समुदायले आइतबार बिहानैदेखि घण्टाघर, मुर्ली, छपकैया इदगाह चोकलगायत स्थानमा सडकमा टायर बाल्दै र नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीले सामान्य झडप भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रु ग्यास प्रयोग गरेको छ। यस क्रममा एकजना प्रहरी सामान्य घाइते भएका छन्।
प्रदर्शनकारीहरूले मस्जिदमा तोडफोड गर्ने र कुरान जलाउनेहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। छपकैया मदरशाका मौलाना असगर मदमीले भने, “नेपालमा धार्मिक दंगा भड्काउने नियतले भएको यो घटनाविरुद्ध हामी प्रदर्शनमा उत्रिएका हौं। घटनामा संलग्नलाई सरकारले तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्छ।”









