राष्ट्रिय लिग सुरु, नेपालको घरेलु फुटबल फिर्ता
काठमाडौँ — लगभग तीन वर्षको अन्तरालपछि फेरि नेपालको घरेलु फुटबल मैदानमा फर्किरहेको छ। बुधबारबाट सुरु भएको राष्ट्रिय लिगको पहिलो दिन दुई खेल हुने तय गरिएको छ। पहिलो खेल काँत्रेबिहार र फ्रेन्ड्सबीच हुनेछ भने दोस्रो खेल श्री भगवती र चर्च ब्वाइजबीच खेलाइने छ।
करिब तीन वर्ष शून्यको अवस्थामा रहेका फुटबल मैदानमा खेल फर्किँदा प्रशंसकहरूमा खुशी र उत्साहको वातावरण देखिएको छ। तर प्रतियोगिता कहाँ र कहिले पूरा हुने भन्ने विषयमा अझै के टुंगो लागेको छैन।
प्रतियोगितामा कुल १७ टिम सहभागी छन्। पहिलो दिन खेल्ने चार टिमबाहेक बाँकी टोलीहरूमा मच्छिन्द्र, एपीएफ, सातदोबाटो, लालीगुराँस, चित्लाङ, आर्मी, प्लानिङ ब्वाइज, पुलिस, मनाङ मर्स्याङ्दी, नवजनजागृति, एनआरटी, जावलाखेल र संकटा रहेका छन्।
कुल १ सय ३६ खेल हुने तय भए पनि अहिलेसम्म ६४ खेलको मिति र स्थान मात्र सार्वजनिक गरिएको छ। बाँकी खेलको कार्यक्रम भने अझै तय भइनसकेको छ।









