काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, कोलकाता ‘डाइभर्ट’
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ । टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ः२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार टर्किसको ‘ए३३०–३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २ सय २५ यात्रु बोकेको थियो ।टर्किस जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।
सिटौलाका अनुसार आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिनमात्र चलाएर टर्किसको जहाज कोलकाता डाइभर्ट भएको थियो । ‘अहिले टर्किसको त्यो जहाज कोलकतामा सुरक्षित अवतरण भइसकेको छ,’ विमानस्थल महाप्रबन्धक सिटौलाले भने, ‘हाम्रो विमानस्थल पनि सामान्य अवस्थामा सञ्चालनमा आइसक्यो ।’









