सीमा क्षेत्रबाट मुख्य बजारसम्म संयुक्त सुरक्षा अभ्यास सञ्चालन
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सिरहा जिल्लामा नेपाल–भारत सीमा क्षेत्रबाट मुख्य बजारसम्म संयुक्त सुरक्षा अभ्यास सञ्चालन गरिएको छ । जिल्लाको समग्र शान्तिसुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले नेपाली सेनाअन्तर्गतको नन्दबक्स गणको नेतृत्वमा संयुक्त सुरक्षा अभ्यास सञ्चालन गरिएको हो ।
आज बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन गरिएको उक्त अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनको संयुक्त सहभागिता थियो । जिल्लाका चारवटै सुरक्षा क्षेत्र ९क्षेत्र नं १, २, ३ र ४० अन्तर्गत रहेका मतदान केन्द्र, निर्वाचन सामग्री भण्डारणस्थल तथा अन्य संवेदनशील बिन्दुहरूलाई लक्षित गर्दै ५७ वटा संयुक्त ‘पेट्रोल’ एकैसाथ परिचालन गरिएको नन्दबक्स गणका प्रमुख तथा प्रमुख सेनानी समीर श्रेष्ठले जानकारी दिए ।
जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ वटै स्थानीय तहमा सुरक्षा उपस्थिति मजबुत बनाइएको उनले बताए । उनका अनुसार संयुक्त सुरक्षा अभ्यासमा सीमावर्ती गाउँ, दशगजा क्षेत्र तथा भित्री बस्तीहरूमा पैदल गस्ती, मुख्य राजमार्ग र बजार क्षेत्रमा सवारी गस्ती तथा दुर्गम र संवेदनशील क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन गरिएको थियो । सीमा क्षेत्रमा आवतजावत निगरानी कडा पारिनाका साथै सन्दिग्ध गतिविधिमाथि विशेष नजर राखिएको सुरक्षा निकायले जनाएको छ ।









