अमेरिका र इजरायलको द्वन्द्वको चपेटामा खाडी मुलुक, त्रासमा नेपाली
काठमाडौं । अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव बढेको छ। खासगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएको छ। इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली दूतावासहरूले अलग–अलग सूचना जारी गर्दै अवस्था सामान्य नहुन्जेल अनावश्यक रूपमा घरबाहिर ननिस्कन आह्वान गरेका छन्। साथै, सतर्क अवस्थामा रहन र सरकारी निकायको आधिकारिक सूचनालाई फलो गर्न पनि उनीहरूले भनेका छन्।
काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले पनि आज एक विशेष ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।









