रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा, ऐतिहासिक उपलब्धिको नजिक
सोमबार, १५ भदौ। नेपाली मिश्रित मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’ सिजन–५ को फाइनलमा स्थान बनाउँदै नेपाली खेलकुदमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। चीनको सांघाईमा भएको बान्टमवेट सेमिफाइनलमा ढाँटले अपराजित न्युजिल्यान्डका कासिब मर्डोकलाई कडा प्रतिस्पर्धापछि स्प्लिट डिसिजनमा पराजित गरेका हुन्। तीन राउन्डसम्म चलेको खेलमा दुई निर्णायकले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने एक निर्णायकले मर्डोकलाई २९–२८ को अग्रता दिएका थिए। अन्ततः २–१ को निर्णयसँगै ढाँट फाइनल पुगे। खेलको सुरुआती चरणमा मर्डोकले रेस्लिङ र ग्र्यापलिङमार्फत ढाँटलाई दबाबमा राखे पनि नेपाली फाइटरले अन्तिम राउन्डमा आफ्नो आक्रामकता बढाउँदै निर्णायक प्रहारहरू गर्न सफल भए। ढाँटको यो जित अझ महत्वपूर्ण मानिएको छ, किनकि मर्डोक यसअघि आफ्नो व्यावसायिक एमएमए करियरमा अपराजित थिए। अब ढाँटले फाइनलमा जापानका र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले अर्को सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। ‘रोड टु यूएफसी’को फाइनल जित्न सके ढाँटले विश्वकै प्रतिष्ठित UFC मञ्चमा प्रवेश गर्ने अवसर पाउनेछन्।









