image
image
अविरल वर्षापछि देशभर बाढी–पहिरोको कहर, ५४२ विपद् घटना, २७ जनाको मृत्यु

अविरल वर्षापछि देशभर बाढी–पहिरोको कहर, ५४२ विपद् घटना, २७ जनाको मृत्यु

असोज १४। बङ्गालको खाडीबाट विकसित **न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षापछि देशभर बाढी, पहिरो तथा भारी वर्षाजन्य विपद्का घटना बढेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार चार दिनको अवधिमा देशभर ५४२ वटा विपद् घटना दर्ता भएका छन्। ती घटनामा परी २७ जनाको मृत्यु, ४ जना बेपत्ता र ८ जना घाइते भएका छन्। विपद्का कारण १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

प्राधिकरणको विवरणअनुसार मानवीय क्षति सबैभन्दा बढी पहिरोका कारण भएको छ। चार दिनमा देशभर ३०४ वटा पहिरोका घटना भएका छन्, जसमा २० जनाको मृत्यु, चार जना बेपत्ता र सात जना घाइते भएका छन्। त्यस्तै ८७ वटा बाढीका घटनामा चार जनाको मृत्यु भएको छ भने भारी वर्षासँग सम्बन्धित १५१ घटनामा थप तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्।

लगातारको वर्षाले भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। २२७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ वटा घरमा आंशिक क्षति पुगेको छ। बाढी तथा पहिरोका कारण ३१ वटा पुलमा क्षति पुगेको र विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। कृषि तथा पशुपालन क्षेत्रमा समेत क्षति पुगेको छ भने ११४ वटा पशुचौपायाको मृत्यु भएको विवरण छ।

वर्षाको तीव्रता पनि उच्च रहेको थियो। चार दिनको अवधिमा १८६ वटा वर्षामापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको थियो। नवलपरासी पूर्वको डेढगाउँमा ५४४.२ मिलिमिटर, कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन गरिएको थियो। जोखिमयुक्त क्षेत्रका नागरिकलाई पूर्वसूचना दिन करिब ९ लाख ८० हजार जनालाई बाढीसम्बन्धी चेतावनी एसएमएस पठाइएको र करिब २ हजार जनालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ।

बाढी र पहिरोमा फसेका नागरिकको उद्धारका लागि सुरक्षा निकाय तथा स्थानीय प्रशासन परिचालन गरिएको छ। म्याग्दी, जाजरकोट, बागलुङलगायत दुर्गम क्षेत्रमा फसेका नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। वर्षाका कारण नदीको बहाव बढ्नु, पहिरो खस्नु तथा सडक अवरुद्ध हुनुका कारण अझै पनि जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।