सेती नदी जलविद्युतको ‘पावर हाउस’को काम धमाधम
काठमाडौँ माघ २० । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ«ेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेकामा यही माघको पहिलो सातादेखि विद्युत गृह पावर हाउस निर्माण शुरु गरिएको आयोजनाले जनाएको छ ।
सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्यृत्गृह बनाउन लागिएको छ । मेसिनरी उपकरणबाट विद्युत गृहका लागि खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनामा अहिले १०० मजदुरले काम गरिरहेका छन् । नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ ।









