राष्ट्रको समृद्धि सो राष्ट्रको उत्पादन र निर्यातमा आधारित हुन्छ - व्यवसायी नरेश लाल श्रेष्ठ
राष्ट्रको समृद्धि सो राष्ट्रको उत्पादन र निर्यातमा आधारित हुन्छ ।
रवीन्द्र ढुङ्गेल
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा वि.सं . २०३६ सालमा जन्मिएका नेपालका सफल युवा व्यवसायी हुन् नरेशलाल श्रेष्ठ । विगत तीन दशकदेखि अमेरिका , युरोप , जापान , अष्ट्रेलिया , जर्मनी लगायत विश्वका विभिन्न मुलुकहरूमा नेपाली हाते कागजको र उलनबाट निर्मित वस्तुको निर्यात गरिरहेका श्रेष्ठ नेपाल निर्यात परिषदका उपाध्यक्ष साथै नेपाल जर्मन चेम्बर अफ कमर्सका उपाध्यक्ष र नवगठित नेपाल निर्यात महासंघका केन्द्रिय कोषाध्यक्ष समेत रहेका छन् । श्रेष्ठ निजी क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी व्यवसायीहरु मिलेर अगाडी बढ्ने वातावरण सृजना गर्न, सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रवद्र्धन गर्दै देश विदेशमा रहेका लाखौं नेपालीहरुका लागि रोजगारी सिर्जना गराउन रोजगारमुलक औद्योगित वातावरणको सुरुवात गर्न आवश्यक रहेको बताउँछन् । वाग्मती पेपर उद्योग र वाग्मती आर्ट्स एन्ड हस्तकला कम्पनी मार्फत गुणस्तरीय सामग्री उत्पादन गरेर देश तथा विदेशमा विशेष पहिचान तथा ख्याति आर्जन गर्न सफल व्यवसायी हुन् ।
गृहजिल्ला सिन्धुपाल्चोकको दुई नेपाली कागज उद्योगलाई भक्तपुरमा स्थानान्तरण गरेर बिस्तृत बनाएका श्रेष्ठले आइकमसम्मको अध्ययन पूरा गरेका छन् । कुनै पनि व्यक्ति विद्यालयको शिक्षाले भन्दा उसको अनुभव अनि कार्यदक्षताले सफल अनि उत्कृष्ट बन्छ भन्ने ज्वलन्त उदाहरण हुन् नरेशलाल श्रेष्ठ । वि.सं. २०५१ सालमा भक्तपुरमा स्थापना भएको वाग्मती पेपर उद्योगले अहिले प्रत्यक्ष रूपमा १५० जनालाई तथा अप्रत्यक्ष रूपमा लगभग ४०० जनालाई रोजगारी प्रदान गरिरहेको छ । प्रत्येक बर्ष उत्कृष्ट निर्यातकर्ताको रूपमा नेपाल हस्तकला महासंघबाट सम्मानित भैरहेको सो उद्योगले वर्षेणि अरबौँ विदेशी रकम नेपाल प्रवेश गराइरहेको छ ।
द्वन्द्वकालमा चन्दा आतंक , लोडसेडिङ समस्या , कच्चापदार्थ उपलब्ध नहुने समस्या लगायत नाकाबन्दीको समयमा पनि विभिन्न समस्या भोगेका श्रेष्ठ आफूले व्यवसायीहरुको समस्यालाई महसुस गरेको र नजिकैबाट नियालेकाले पनि समाधान गर्ने बताउँछन् । हाम्रा स्तरीय उत्पादित वस्तुहरुको निर्यात प्रबर्द्धन गर्न अझै विभिन्न कठिनाइ आएको उनको गुनासो छ । धेरै व्यक्तिहरुलाई रोजगारी समेत प्रदान गरिरहेका श्रेष्ठ , देशको ठुलो आर्थिक पाटो अँगालिरहेको निजि श्रेत्रबिना राज्य नै सञ्चालन हुननसक्ने आसय प्रकट गर्छन् । देशको समग्र अर्थतन्त्र धान्ने निजि क्षेत्रलाई सरकारले सहज वातावरण नदिएकोमा श्रेष्ठको मन अमिलो बन्छ । निजिक्षेत्रलाई सरकारले उपेक्षा गरेको र सामान्य सेवा , सुबिधा समेत प्रदान नगरेको अवस्था छ । जेनतेन निर्यात प्रबर्द्धन गर्ने प्रयत्न गरिरहेका छौँ जसबाट ठुलो विदेशी पुजी नेपाल भित्र्याईरहेका छौँ तरपनि राज्यले उत्पादन र निर्यात गर्ने उपयुक्त वातावरण दिलाउन नसकेको श्रेष्ठको भनाइ रहेको छ ।
कुनै पनि राष्ट्रको समृद्धि सो राष्ट्रको उत्पादन र निर्यातमा आधारित हुन्छ । नेपाली जनताले विदेशी भूमिमा श्रम बेचेर पठाएको विप्रेषणले मात्रै कुनै पनि राष्ट्रको आर्थिक समृद्धि सम्भव छैन । निर्यात प्रतिस्थापन , आयात विस्थापन अपरिहार्य आवश्यकता हो ।
ग्रामीण क्षेत्रमा जन्मिएर पनि देशकै अर्थतन्त्रमा ठुलो योगदान दिइरहेका श्रेष्ठले ४/५ लाख रुपैयाँको लगानीबाट आफ्नो व्यवसाय सुचारु गरेका थिए । सुरुका दिनमा विभिन्न समस्याहरु झेल्नुपरेको दुखेसो गर्छन् श्रेष्ठ । सरल स्वभाव एवं मिठास बोली भएका युवा व्यवसायी श्रेष्ठ कम्पनी तथा उद्योगलाई परिचीत गराउन कठिनाइ भएकोले सुरुका दिनमा निर्यात गर्न अफ्ट्यारो भएको थियो उनी बताउँछन् । विश्वका धेरै देशमा आयोजना हुने व्यापारिक मेलाहरुमा भाग लिएका श्रेष्ठले अष्ट्रेलिया , जर्मनी , फ्रान्स , जापान , अमेरिका जस्ता मुलुकहरूमा नेपाली उत्पादन निर्यात गर्छन् । अन्तर्राष्ट्रिय आयातकर्ताहरुसँग सम्पर्क गरेर नेपाली उत्पादन निर्यात गरिरहेका श्रेष्ठले सुरुवातका दिनमा धेरै चुनौतीहरुको सामना गर्नुपर्यो । कच्चापदार्थ आयात गर्नुपर्ने , आधुनिक प्रविधि ल्याउनुपर्ने , लोडसेडिङ भोग्नुपर्ने तथा दक्ष जनशक्ति उपलब्ध नहुने लगायत धेरै समस्या भोगेका श्रेष्ठ इमानदारीसाथ मिहिनेत गर्ने हो भने जुनसुकै व्यवसायमा सफलता हासिल गर्न सकिने स्वीकार्छन् । जोस र गतिशीलताले भरिएको बौद्धिक, योग्य र अनुभवी कर्मचारी सहितको कोर टिम नै हाम्रो सफलताको उच्चतम कारण हो, श्रेष्ठको दाबी छ । हाम्रो अन्तर्राष्ट्रिय ग्राहकहरुका लागि हस्तकलाको उत्तम गुण उत्पादन गर्न दिनरात कुशल र योग्य जनशक्तिले अत्यधिक मिहिनेत गरिरहेका छन् । सन् १९९६ बाट नयाँ रणनीतिका साथ व्यवस्थापन गरेको वाग्मती आर्ट्स एन्ड हस्तकलाले ग्राहकहरुको सन्तुष्टिलाई प्रमुख उदेश्य बनाएको छ ।
राष्ट्रको समृद्धिको लागि अधिकतम उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने हुन्छ । आयातलाई घटाएर निर्यातलाई बढाउन साथै रोजगार प्रबर्द्धन गर्न मेरो उम्मेद्बारी आवश्यक भएको हो , उनी बताउँछन् । पर्यटन , जलविद्युत , कृषि , जडिबुटी लगायतका क्षेत्रलाई उत्थान गर्न र राष्ट्रको बढ्दो व्यापार घाटालाई निरुत्साहित गर्ने युवा व्यवसायी श्रेष्ठको लक्ष्य छ । हामी एक आपसमा जुध्ने होइन , हामीले मिलेर नै राष्ट्रको आर्थिक वृद्धि गर्नुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउँदै सबै वर्गका व्यवसायीलाई उठाउँदै राष्ट्रिय उत्पादन बढाउनुपर्ने आजको मुख्य आवश्यकता हो , श्रेष्ठको भनाइ छ ।
चारवटा कोठाबाट सुरु भएको उद्योग आज नेपाल मात्रै होइन विश्वकै लागि नमुना सावित भएको छ । सिर्जनात्मक हस्तकलामा प्रयोग भएको दक्षता साँच्चै नै अनुपम क्षमता हो । आज नेपाली डिजाइनहरु चीन र भारतलाई चुनौती दिने किसिमका भएका छन् । नेपालको मौलिकता एवं नेपालप्रती सबैको सद्भाव रहेकाले पनि नेपाल हस्तकलामा सफल देखिन्छ , श्रेष्ठको भनाइ छ । नेपाल जस्तो मध्यविकसित मुलुकले धेरै कच्चापदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ । श्रेष्ठका अनुसार नेपालको कुल आयात १४ खरब रहेको छ भने निर्यात ९५ अरबको हाराहारीमा रहेको छ । कृषि , जडिबुटी , चिया तथा ह्याण्डीक्र्याफ्ट नेपालले निर्यात गरिरहेको छ । यी क्षेत्रलाई विस्तारित गर्नसकेको खण्डमा राष्ट्रको व्यापार घाटा घट्नेछ साथै धेरै नेपालीहरुलाई स्वदेशमा नै रोजगारीको प्रबन्ध हुनेछ ।
उद्योग सञ्चालनमा आवश्यक पर्ने कच्चापदार्थ पनि नेपालमा नै तयार गर्नुपर्ने उनको जिकिर छ । पर्यटन , कृषि र जलस्रोतको अधिकतम उपयोगमा राज्यले ध्यान दिनुपर्छ युवा व्यवसायी श्रेष्ठ भन्छन् । निजि क्षेत्रलाई आधार बनाएर सरकारले दीर्घकालीन योजना तयार गर्नुपर्ने देखिन्छ । सबै उद्योगधन्दा निजि क्षेत्रबाट नै संचालित छ । सरकारको लगानी भएका औद्योगिक क्षेत्रहरु बन्द भएको अवस्था छ । सरकारलाई योजना निर्माणमा सघाउन र निजि क्षेत्रको लगानी सुनिश्चितता तथा औद्योगिक वातावरण तयार गर्न आवश्यक रहेको छ ।









