image
image

बजेटभन्दा अन्तर्राष्ट्रिय व्यापार ठूलो

काठमाडौँ, आयात र निर्यात निरन्तर उकालो लाग्दा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघेको छ । यो चालू आर्थिक वर्ष २०७७/७८ को कुल बजेटको आकारभन्दा पनि ठूलो हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब चार अर्ब ६१ करोड रुपियाँ पुगेको हो ।

अघिल्लो जेठको तुलनामा आयात करिब २६ प्रतिशत र निर्यात ३८ प्रतिशतले बढ्दा ११ महिनामै बजेटको आकारभन्दा कुल व्यापार बढी हुन पुगेको हो । सरकारले चालू आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६५ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो ।

कुल व्यापारमध्ये आयातको हिस्सा ९१.९४ प्रतिशत अर्थात् १३ खर्ब ८३ अर्ब ३६ करोड रुपियाँ रहेको छ । त्यस्तै निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ । जुन एक खर्ब २१ अर्ब २५ करोड रुपियाँ हुन आउँछ । कोभिड–१९ सङ्क्रमणको झन् सङ्क्रामक दोस्रो लहरबीच पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारको लय उकालो नै लागिरहेको विभागको तथ्याङ्कले पुष्टि गर्छ । व्यापारसँग सम्बन्धित प्रायः सबै सूचक बढेको पनि विभागको तथ्याङ्कले देखाउँछ ।

कुल व्यापारमा निकै ठूलो हिस्सा रहेको आयातको वृद्धिदर कायम नै रहँदा व्यापार घाटा पनि फराकिलो हुँदै गएको छ । तथ्याङ्कअनुसार गत जेठको तुलनामा यस्तो घाटा २४.६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपियाँ पुगेको छ । अघिल्लो जेठमा व्यापार घाटा १० खर्ब १२ अर्ब रुपियाँ थियो ।
वस्तुगत रूपमा कुल आयातमध्ये सबैभन्दा धेरै ७९ अर्ब ४५ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि ६५ अर्ब २३ करोड रुपियाँको अर्धप्रशोधित फलाम तथा स्टिल, ४४ अर्ब ६२ करोड रुपियाँको कच्चा भटमास तेल, ३४ अर्ब १४ करोड रुपियाँको मोबाइल फोन र ३३ अर्ब १५ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ ।

निर्याततर्फ सबैभन्दा धेरै ४२ अर्ब ३४ करोड रुपियाँको भटमास तेल निर्यात भएको छ । त्यसपछि छ अर्ब ६१ करोड रुपियाँको अलैँची, तीन अर्ब ४८ करोड रुपियाँको गलैँचा, तीन अर्ब २३ करोड रुपियाँको ऊनी कपडा र तीन अर्ब १३ करोड रुपियाँको कालो चिया निर्यात भएको छ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।