image
image

बजार माग बढ्ने दिन कुर्दै फूटवेयर उद्योग ५०५ क्षमतामा,  १५ अर्बभन्दा बढीको नोक्सानी

काठमाडौं, २६, असार। वैशाख १६ देखि जारी निषेधाज्ञा खुकुलो नहुन्जेल फेन्सी सामानको किनबेच नै ठप्प थियो । विदेशबाट आयात घट्दा हौसिएर धमाधम लगानी बढाएका जुत्ता(चप्पल उद्योगी यतिबेला आत्तिएका छन्। करिब तीन महिनापछि बजार खुलेको छ। उद्योगहरु पनि फाट्टफुट्ट संचालनमा आउन थालेका छन्। तर न बजारमाग बढेको छ न त पुरानो बक्यौता उठेको छ। त्यसैले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउने सुरसार छैन। 

गत वर्षदेखि विदेशी जुत्ता–चप्पलको आयात कम हुँदा चम्किन थालेका स्वदेशी उद्योगहरुलाई कोरोना भाइरस संक्रमण महामारीले अप्ठ्यारो पार्‍यो। निषेधाज्ञा खुकुलो भएर जनजीवन सहज बन्दै गए पनि धेरै उद्योगहरु चल्न सक्ने अवस्थामा नभएको अध्यक्ष कुष्णकुमार फुयालले बताए। कोरोनाले हाम्रा उद्योग थला परेका छन्, ठूलो लगानी धरापमा परेको छ, उनले भने।

कच्चा पदार्थ, दक्ष जनशक्ति, पुँजी लगायतमा समस्याका कारणले गर्दा धेरैजसो उद्योगहरु पुनः संचालनमा आउन नसकेको उनले बताए। तीन महिनादेखि उद्योगहरु ठप्प हुँदा १५ अर्ब रुपैयाँ बराबरको नोक्सान भएको अध्यक्ष फुयालले बताए। पोहोरको लकडाउनले जुता–चप्पल  व्यवसायलाई शिथिल मात्र बनाएको थियो, अहिलेको निषेधाज्ञाले पूरै घाइते बनायो, उनले भने।  

आयात कम हुदा स्वदेशी जुत्ता उद्योगहरुले राम्रो अवसर पाए पनि पटक पटक बन्दले व्यवसायीहरु आजित छन्। धेरैजसो नयाँ उद्योगी यही क्षेत्रको व्यवसाय गर्दागर्दै उद्योगमा लगानी गर्नेहरु छन्। चीनबाट जुत्ता–चप्पल आयातको कारोबारमा लाममो समयदेखि सक्रिय रहेकाहरुले थपेका उद्योग धेरै छन्। बजारमा ब्रान्डिङ गरेका उद्योगलाई टिक्नै गाह्रो परेको छ भने साना उद्योगी वैकल्पिक उद्यम के हुन सक्छ भन्ने विकल्प खोज्न थालेका छन्।

कोरोना भाइरस संक्रमण महामारी फैलन थालेपछि बन्द भएका स्कुल कलेजहरु खुल्ने छाटकाँट छैन। वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले बर्सेनि स्कुल कलेजका जुत्ताहरुको बिक्री उच्च हुने गरेको थियो। अब सबैजसो शैक्षिक संस्थाले अनलाइन पढाएकाले विद्यार्थीलाई जुत्ता–चप्पल र युनिफर्म नै आवश्यक छैन। गत वर्ष जस्तो सिजन अगावै निषेधाज्ञा हुँदा  कारोबार नै ठप्प भयो। 

व्यवसायीका अनुसार अब जुत्ता(चप्पलको  कारोबार राम्रो  हुने भनेको चाडपर्व र जाडो सिजनमा मात्र हो। कोरोनाका कारण भौतिक दुरी र सतर्कतामा चनाखो हुनुपर्ने अनिवार्य भएपछि जुत्ता(चप्पल पोहोरपरारका तुलनामा बिक्री पूरै प्रभावित भएको छ। 

यतिबेला छालाको नभइ प्लाष्टिकका जुत्ता(चप्पलहरु बिक्री हुने सिजन हो। बजार खुल्न थाले पनि छालाका जुत्ताको माग कम छ।  निषेधाज्ञा खुकुलो हुँदा उद्योगहरु खुल्ने वातावरण बनेको छ तर बजार माग नबढी उत्पादन बढ्न नसक्ने उद्योगीले बताएका छन्। अहिले  ५० प्रतिशत  उद्योग संचालनमा आएका हुन्। बजारको अवस्थामा सुधार आए बाँकी उद्योगहरु पनि बिस्तारै  संचालनमा आउने एशोसिएसनले जनाएको छ। 

कोभिडले विस्थापित हुन लागेको व्यवसायलाई कसरी माथि उठाउने भन्नेतर्फ लागेका छौं। जीवनयापन सामान्य बन्दै गए केही समयमै उद्योगहरुले उत्पादन बढाउने छन्, अध्यक्ष फुयालले भने, अवस्था यस्तै रहिरहे स्वदेशी जुत्ता(चप्पल उद्योगहरु धरापमा नै छन्।

हाल देशभर साना-ठुला गरी करिब १५ सय उद्योग छन्। धेरै उद्योगलाई गत वर्षदेखि कारोबार प्रभावित हुँदा बैंक ऋणको किस्ता र कामदारलाई तलब नियमित गर्न गाह्रो परेको छ। बजार पठाएको उत्पादनको पैसा बक्यौता रहँदा कतिपय पुनः कारखाना तत्काल सञ्चालनमा ल्याउन हच्किएका छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।