image
image

खुले सौराहाका होटल

भरतपुर, सौराहाका पर्यटकीय होटलले कोरोनाको कहरकै बीचमा सेवा दिन थालेका छन् । होटलको क्षमताअनुसार एक तिहाइसम्म पर्यटक राख्न पाउने जिल्ला प्रशासन कार्यालय चितवनको आदेशसँगै सौराहाका होटल सरसफाइ तथा रङरोगन गर्दै सेवा दिन थालेको क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।

“हामीले कोभिड–१९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ,” महासचिव थपलियाले भन्नुभयो, “आन्तरिक पर्यटक आउने क्रम सुरु भएको छ । ”

सवारी साधन सञ्चालन सहज नभएको र नारायणगढ–मुग्लिन सडकमा पहिरो जारी रहेकाले तल्काल पर्यटक आवगमन कमै भए आउने क्रम भने सुरु भएको उहाँले जनाउनुभयो ।

सौराहाकै राम्रा होटलमध्येको एक ल्यान्डमार्क फरेस्ट पार्कका सञ्चालक ओमप्रकाश पाण्डे होटल खुलेको पहिलो दिनमै आफूहरूले १८ वटा कोठा बिक्री गरेको जनाउनुभयो । “पर्यटक आउन थालिसके, पहिलो दिनमै हामीले १८ वटा कोठा बेचेका हौँ,” सञ्चालक पाण्डेले भन्नुभयो ।

कोरोना कहरले थला परेका बेला बाढीबाट डुबान भएपछि सौराहाको सरसफाइ र रङरोगन गरेर होटल सञ्चालन ल्याइएको पनि उहाँले जनाउनुभयो । “लामो समय बन्द रहेका होटल सञ्चालनमा ल्याउन आवश्यक सरसफाइ, रङरोगन र मर्मतसुधारमा हामीले १५ लाख रुपियाँ खर्च ग-यौँ,” पाण्डेले भन्नुभयो ।

महासचिव थपलिया ठूला होटलको खर्च बढे पनि सबै होटलको सरसफाइ र मर्मतसुधार खर्च १५ लाख रुपियाँ नै नहुने बताउनुहुन्छ । “ठूला होटलको रङरोगन र सफाइमा उल्लिखित रकम खर्च भयो होला तर साना होटल एक लाख रुपियाँ मात्रै खर्च गरेर पनि सञ्चालनमा ल्याउने अवस्था छ,” उहाँले भन्नुभयो ।

अहिलेको अवस्थामा सौराहाका ११० वटा होटलले सरसफाइ तथा मर्मतसुधार र आवश्यकता अनुसारको सामान खरिदमा मात्रै १० करोड रुपियाँ खर्च गरेको उहाँले जनाउनुभयो ।

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै गत वैशाख १७ देखि सौराहाका ११० होटल बन्द थिए । होटल बन्द हँुदा छ हजारभन्दा बढी कर्मचारी पनि कामविहीन थिए ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।