image
image

अझै सुरु भएन बूढीगंगा जलविद्युत् आयोजनाको निर्माण

काठमाडौँ, १, साउन । अछामको साँफेबगर नजिकै ठाँटीमा निर्माण हुने २० मेगावाटको अर्धजलाशययुक्त बूढीगंगा जलविद्युत् आयोजनाको डीपीआर तयार भएको एक वर्ष भइसक्दा पनि निर्माण कार्य भने अझै सुरु भएको छैन । कतार र साउदी अरबको ऋण लगानीमा आयोजनाको काम सुरु हुने भएकाले ठेक्का साउदी अरबले स्वीकार गरेपछि मात्रै आयोजनाले काम गर्न पाउने सर्त छ । आयोजना निर्माणका लागि २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब नेपाली रुपैयाँको ऋण सम्झौता भइसकेको छ ।

उक्त सम्झौतामा आयोजनाका हरेक काम गर्दा साउदीले स्विकारेपछि मात्रै काम सुरु गर्न पाउने उल्लेख छ । ‘ठेक्का प्रक्रियामा हामी गइसकेका थियौं । डीपीआर तयार भएपछि आयोजना निर्माणका लागि पनि अघि बढेका थियौं । तर अन्तिममा साउदीलाई प्रि–क्वालिफिकेसन देखाउँदा भएन भन्दै रिजेक्ट गर्‍यो,’ आयोजनाका साइट इन्चार्ज इन्जिनियर वीरबहादुर बोहराले भने, ‘हामीले आफ्नो तरिकाले काम गरेका हुन्छौं । अन्तमा साउदीले रिजेक्ट गरिदिन्छ । ऋण सम्झौतामा नै साउदीले स्वीकृत गरेपछि आयोजनाको काम अघि बढाउन पाउने सम्झौता छ ।’

उनका अनुसार आयोजनाले एक वर्षको अवधिमा निर्माणका लागि अघि बढाएको ठेक्का प्रक्रियालगायतका अन्य कार्य साउदीले नमानेपछि पुनः साउदी अरबले स्विकार्ने गरी काम अघि बढेको छ । ‘एक वर्षसम्म सबै कागजात तयार पार्दा समय, खर्च र जनशक्ति प्रयोग गरेको खेर गयो । नेपाल सरकारले साउदीसँग वार्ता गरेको भए रिजेक्ट नहुने अवस्था पनि हुन्थ्यो,’ साइट इन्चार्ज बोहराले भने, ‘आयोजनाको निर्माण प्रक्रिया सुरु हुन अब कम्तीमा पनि एक वर्ष लाग्छ । यस्ता आयोजनामा सरकारको चासो के कति हुन्छ, त्यसमा पनि भर पर्छ ।’

अछाममा निर्माण हुने २० मेगावाटको बूढीगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि नेपाल सरकारले साउदी सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । २०७२ असार १४ गते सम्झौता भई २०७३ पुसमा जिम्मा पाएका अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्रालि र नेपालको उदय कन्सल्टेन्सीले १ वर्षअघि डीपीआर तयार पारेको हो । डीपीआर तयार गर्न करिब १९ करोड ९१ लाख लागत छ । सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि २०५२ देखि नै अध्ययन सुरु भएको थियो । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिब ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।