image
image

लुम्बिनी र कर्णालीमा अध्यादेशबाट बजेट

काठमाडौँ, आर्थिक वर्ष २०७८/७९ का लागि असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेर असारभित्रै पारित गरी नयाँ आर्थिक वर्ष सुरु भएर नयाँ बजेट कार्यान्वयन गर्नुपर्नेमा दुई प्रदेशले भने अध्यादेशबाट बजेट ल्याएका छन् । राजनीतिक किचलोका कारण लुम्बिनी र कर्णाली प्रदेशमा असारभित्रै बजेट पारित हुन नसकी चालू प्रदेश सभा अधिवेशन मध्यरातमा अन्त्य गरेर साउन १ गते अध्यादेशबाट बजेट ल्याइएको छ । 

सदस्यहरू ४१ : ४१ हुँदा अध्यादेश
बुटवल समाचारदाता छवि पाण्डेका अनुसार शुक्रबार प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश विनियोजन अध्यादेश २०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्नुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
प्रदेश सभाको असार ३१ गते बसेको बैठकमा बजेट पारित गर्न प्रदेश सरकारले राखेको प्रस्ताव नेपाली काँग्रेससहितका विपक्षी गठबन्धनले अस्वीकार गरेपछि सरकारले शुक्रबार अध्यादेशको बाटो रोजेको हो । प्रदेश सभामा सत्ता पक्षमा ४१ र विपक्षी गठबन्धनमा पनि ४१ सांसद रहेको अवस्थामा सभामुखको निर्णायक मत विपक्षीतिर जाने निश्चित भएपछि प्रदेश सरकारले बजेट फेल हुने सम्भावना देखिएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले सत्ता पक्षका सांसदको अनुपस्थितिको फाइदा उठाई अन्तिम घडीमा आएर प्रतिपक्षले बजेट विफल गराउन खोजेको आरोप लगाउनुभयो । नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले अध्यादेशबाट बजेट आउनु भनेको सरकारले प्रदेश सभामा बहुमत गुमाएको प्रमाणित भइसकेको दाबी गर्नुभयो ।

पुरानै बजेट अध्यादेशबाट
सुर्खेत समाचारदाता मुना हमालका अनुसार कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । सरकारको सिफारिस प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बजेटसम्बन्धी प्रदेश विनियोजन अध्यादेश २०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्नुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश विनियोजन अध्यादेश २०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न सिफारिस स्वीकृति गर्ने निर्णय गरेको थियो । सरकारले प्रदेश सभामा असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट ल्याएको थियो । सोही बजेटलाई नै अध्यादेशमार्फत ल्याएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रतिपक्षले संसद् अवरुद्ध गरेका कारण अध्यादेशमार्फत बजेट ल्याउनुु सरकारको बाध्यता भएको बताउनुभयो । उहाँले शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर एमालेले आफ्नो दलको आन्तरिक विवादको विषय उठाएर संसद्लाई बन्धक बनाएपछि सरकारलाई अध्यादेशमार्फत बजेट ल्याउन बाध्यात्मक कदम भएको दाबी गर्नुभयो । पेस्की बजेट ल्याउने व्यवस्था भए पनि उक्त बजेट तलब भत्तामा मात्रै खर्च हुनेहुँदा विकास खर्च गर्नका लागि अध्यादेशमार्फत बजेट ल्याउन उपयुक्त ठानेको उहाँको भनाइ छ ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।