निर्यातजन्य वस्तुमध्ये अलैंची पहिलो स्थानमा
काठमाडौँ - कोभिडका कारण किसानले अलैंची बिक्री गर्न नपाएको बताइरहँदा चालू आर्थिक वर्षको ६ महिनामा निर्यात भएका प्रमुख २० वस्तुमध्ये नगदे बाली अलैंचीको स्थान सबैभन्दा अगाडि रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको ६ महिनामा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।
नेपालको प्रमुख नगदेबालीका रुपमा अलैंची रहेको छ । नेपाली अलैंची कतार, चीन, भारत र युएई जाने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी नेपाली अलैंचीको बजार भारतले लिएको तथ्यांले देखाएको छ । अलैंची व्यवसायी महासंघका अनुसार कूल उत्पादनको ९८ प्रतिशत हिस्सा विदेशी बजारले लिएको छ । मुलुकको वैदेशिक व्यापारमा कूल निर्यातमा ६.२ प्रतिशत अलैंचीको योगदान छ । पछिल्लो समयमा नेपाली अलैंचीको उत्पादन व्यवसायीक हुन थालेपछि निर्यातमा पनि योगदान बढ्दै गएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार दोस्रो बढी निर्यात हुने वस्तुमा धागो रहेको छ । चालू वर्षको ६ महिनामा ३ अर्ब ३ अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको छ । कूल निर्यातमा धागोको योगदान ६ प्रतिशत योगदान छ । गत वर्षको सोही अवधिमा ३ अर्ब १९ करोड रुपैयाँको धागो निर्यात भएको थियो । त्यसैगरी तेस्रो स्थानमा रहेको गलैंचाको निर्यातमा २.८ प्रतिशत गिरावट आएको छ ।
चालू वर्षमा साढे ३ अर्बको कार्पेट निर्यात भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोड रुपैयाँको गलैंचा निर्यात भएको थियो । चालू वर्षको ६ महिनामा जुटका सामानहरूको निर्यात १४.८ प्रतिशत वृद्धि भएको छ । तयारी पोशाक, जुट, टेक्सटाइल, पश्मिना, हर्वल उत्पादन, जुत्ता चप्पल, अदुवा लगायतका वस्तुहरू उत्कृष्ट २० को सूचीमा छन् ।









