image
image

तरकारी बाली हात नपर्ने किसानको चिन्ता ।

महोत्तरी । लगातारको बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाइने चिन्ताले महोत्तरीका तरकारी किसान हैरान भएका छन् । पुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीको बेलो सुकाउनसँगै रोग बढाएपछि यहाँका किसानको हैरानी बढेको हो ।

पछिल्लोपटक गत पुस २७ गतेयता गत आइतबार मध्याह्नपछि र सोमबार मात्र घाम देखिएको थियो । त्यसपछि फेरि बाक्लो हुस्सुसँगै तुसारो बढेपछि तरकारीबालीको स्याहार केही गर्न नपाइएको यहाँका किसानले बताएका छन् ।

“खेतबारीमा बोट नै नदेखिने गरी तुसारो छ, लगातारको शीतलहरले बोट पहेँलिएका छन्, फल आफैँ कुहिएर झर्दैछ”, मौसमका कारण तरकारीको स्याहार र उपचार पनि गर्न नपाएको चिन्ताले बिरक्तिएका बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान रामविनोद महतोले भने, “आँखाभरि बिजोग हेरेर बस्नुपरेको छ, अब उत्पादन हात पर्ने आस मर्यो ।”

परवल, सिमी, करेला र बोडीसहितका बेला (लहरा) आफैँ पहेँलिएका र भण्टा, कोभी, टमाटरसहितका बोट क्रक्रिएर फल कालो हुँदै कुहिएर झर्ने गरेको किसान बताउँछन् । झारले तरकारीका बोट छोपिसक्दा पनि मौसमको प्रतिकूलताले गोडमेल गर्न नपाइएको र उपचारले काम नगरेको रामविनोदकै छिमेकी अर्का तरकारी किसान जवाहर महतो बताउँछन् । “हेर्नोस् न, उ टमाटर कुहिएर बग्रेल्ती झरेका”, टमाटर बारीतिर देखाउँदै जवाहरले भने, “मौसम उघ्रेर घाम नलागी न बारी पस्न सकिन्छ, न उपचार नै काम लाग्छ ।”

यसपालि मंसिर अन्तिम सातामै सुरु भएको शीतलहर पुस मध्यताका हटे पनि पुसकै अन्तिम सातामा फेरि बढेको हो । माघ लागेपछि बाक्लो हुस्सु र तुसारो पर्ने क्रम रोकिने आस पनि पहिलो साता बित्दासम्म पूरा हुने छाँट नदेखिएको किसान अड्कल गर्छन् । “आइतबार दिउँसो घाम देखिँदा अबचाहिँ उर्घ्यो भन्ने परेको थियो, सोमबार त बिहानै घाम देखियो पनि” भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवार भन्छन्, “हामीले सोचेकोजस्तो किन हुन्थ्यो, सोमबार साँझैदेखि फेरि बाक्लो हुस्सुले ढाकिहाल्यो ।”

बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले गलाएको तरकारीको बोट जति उपचार गरे पनि ठिक नभएको किसानको गुनासो छ । “भरसक्दो त उपचार गरियो नि !” दनुवारकै छिमेकी किसान बहुरा महतोले भने, “तरकारी खेती त गयो..गयो, उपचार गर्दा गरिएको खर्चको ऋणमा समेत परियो ।” यस्तो चिन्ताबीच सरकारी निकायका कुनै कृषि प्राविधिक सल्लाह, सुझाव र सहानुभूतिकै लागि पनि नभेटिएका किसानको थप गुनासो छ । “खै कृषि हेर्ने सरकारी अड्डा त छन् भन्छन्, हाम्रो दुःख कसले बुझ्ने ? कोही हामीलाई हेर्न आउँदैनन्”, महतोले भने ।

हिउँदे तरकारीका बोटले लामो समयसम्म घामको ताप नपाउँदा उपचार नलागेको कृषि विज्ञको भनाइ छ । “दुइ/चार दिनको अघिपछि घाम देखिएको भए उपचार लाग्ने थियो, यहाँ त झण्डै बाक्लो तुसारो परिरहेको १५ दिन हुन लाग्यो”, लामो समय कृषि विज्ञको सरकारी सेवा (सहसचिव) मा रही हाल सेवानिवृत्त भएका भङ्गाहा–५ कै बासिन्दा राम बहादुर भुजेल किसानकै भनाइमा लय मिलाउँदै भन्छन्, “लगातार बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारो पर्ने क्रम रोकिएन, उपचारका लागि गरिएको प्रयत्न त्यति फलदायी भएन ।”

जिल्लाका बर्दिवास नगरपालिकाका पशुपतिनगर, बिजलपुरा, भङ्गाहा नगरपालिकाका रामनगर, राजपुर, हतिसर्वा, बलवा नगरपालिकाका धमौरा, बनौटा, गौशाला नगरपालिकाका बेलगाछी, लक्ष्मीनियाँ र भरतपुरलगायतका बस्ती तरकारी बालीका पकेट क्षेत्र मानिन्छन् । यी बस्तीमा पाँच हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती लगाइने गरिन्छ तर प्राकृतिक प्रकोपको निदान र खेतबारीमा सिंचाइको प्रबन्ध नहुँदा कहिल्यै ठिक समयमा बाली लगाउन, रोगको निदान एवं उपचार गर्न नसक्दा अपेक्षित उत्पादन लिन नसकिएको तरकारी किसान दुखेसो छ । रासस

आफुहरुको यो मर्का सरकार र सम्बद्ध दलहरुले बुझिदिनुपर्ने किसानको माग छ । कहिल्यै समयमा बीउबिजन र मल नपाउने, सिँचाइको प्रबन्ध नहुनु, रोगव्याधि र प्राकृतिक प्रकोप निदानको पूर्वतयारी र विज्ञको अवलोकन नहुँदा आफुहरुको  खेती ‘दैवकै भर’ हुने गरेको किसान बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।