किसानलाई क्रेडिट कार्ड वितरण, किसान दंग !
काठमाडौं । अर्जुन अर्याल बुधबार विहान किसान क्रेडिट कार्ड पाएपछि दंग थिए । उनी विगत ६ वर्षदेखि काठमाडौंको तारकेश्वरमा ग्रामीण पोल्ट्री एण्ड ब्रेडिङ फार्म सञ्चालन गरिरहेका छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश पुगेका अर्जुन लामो समय विदेशमै बसे । ७ वर्षको बेलायत बसाइँपछि उनी स्वदेश फर्किएका थिए ।
विदेशमा बगाउने पसिना भन्दा उनले स्वदेशमै मेहनत गर्नु फाइदा देखे । त्यसपछि स्वदेशमै उनी कृषि उद्यममा रमाएका छन् । अहिले पनि उद्यम राम्रै चलिरहेको उनी सुनाउँछन् ।
बैंकबाट लिएको ऋण पनि नियमित तिरिरहेका उनलाई एक दिन बैंकले किसान क्रेडिट कार्डको अफर गर्यो । बुधबार ५४ औँ वार्षिकोत्सवको अवसर पारेर कृषि विकास बैंकले उनलाई क्रेडिट कार्ड दिएको छ । व्यवसायलाई राम्रो बुझेका युवा अर्जुन कृषि विकास बैंकले दिएको कार्डले अन्यलाई उद्यम गर्न हौसला मिल्ने बताउँछन् । यसले कृषि उद्यम स्मार्ट हुने उनले प्रतिक्रिया दिए ।
किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ ।
कृषि कर्म गर्नका लागि देशभरका कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा हुनेछ ।
एटीएम र भिसा कार्ड चिप्समा चल्छन् भने किसान क्रेडिट कार्ड क्यूआर कोडमा आधारित हुन्छ । यो एटीएम बुथमा भने चल्दैन । मल बीउका पसलमा रहेका मर्चेन्ट मेसिनमा स्वाप गरेपछि क्रेडिट कार्डबाटै रकम काटिन्छ ।
बुधबार विशेष कार्यक्रमको अवसर पारेर बैंकले करिब २ दर्जन किसानहरुलाई किसान क्रेडिट कार्ड दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको तर्फबाट कार्ड किसानहरुलाई हस्तान्तरण गरे ।









