image
image

एक वर्षमै फल्न थाले स्याउ, ढुवानी गर्न बारीमै हेलिप्याड   

काठमाडौँ २५ साउन  । उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो ।

चुमनुब्री गाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार हजार बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमा डुन्डुप लामाले जानकारी दिए । चुमनुब्री किसान समूहलाई गत वर्षको असारमा प्रदेश सरकारले उपलब्ध गराएको इटालियन जातको गोल्डन, फुजी, गाला, रेड डेलिसेस र किङ्ग डेलिसेस जातका बिरुवाले एकै वर्षमा राम्रो उत्पादन दिन थालेको छ । वडाध्यक्ष लामाले भने, ‘गत वर्षको असारमा बेर्ना सारिएको थियो, अहिले बोटमा राताम्मै फलेको छ ।’ त्यहाँ स्थानीय किसान मिलेर समूहमा व्यावसायिक स्याउ खेती गर्न शुरु गरेका थिए ।

उत्पादित स्याउलाई समयमा बजारसम्म लैजान खच्चड र हेलिकप्टर बाहेकको विकल्प छैन ।  ‘हेलिकप्टरमार्फत ढुवानी गर्न मिल्ने गरी स्याउबारीभित्रै हेलिप्याड निर्माण गरिएको छ’, वडाध्यक्ष पेमा डुन्डुप लामाले भने ।
प्रदेश सरकारको ७० प्रतिशत अनुदानमा कूल चार हजार ३७० बोट स्याउ रोपिएको वडाध्यक्ष लामाले जानकारी दिए । ‘रोपिएकामध्ये ११४ बोट हुर्किएनन् । अरु सबै बोट राम्रोसँग हुर्किएका छन्’, उनले भने, ‘पहिलो वर्षमानै सोचे भन्दा धेरै राम्रो फल दिन थालेको छ ।’ एउटै बोटमा २० केजीसम्म स्याउ फलेको उनको भनाइ छ ।

नयाँ र कलिला बोटले धान्न नसक्ने भएपछि छाँटकाँट शुरु गरिएको छ । ‘अहिले एउटा बोटमा पाँच केजीसम्म स्याउ फलेका छन्’, वडाध्यक्ष लामाले भने, ‘साना बोटले त्यो भन्दा बढी धान्न नसक्ने भएपछि दाना टिपेर फाल्नु पर्‍यो ।’

इटालीबाट ल्याइएका ती विरुवा खच्चडबाट ढुवानी गरिएको थियो । सो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आए पनि विदेशी जातको भने पहिलो पटक उत्पादन भएको हो । ‘परीक्षणका लागि पनि फरक प्रजातिको स्याउ खेती गरिएको शुरु गरिएको थियो’, वडाध्यक्ष लामाले भने, ‘स्याउले पहिलो वर्ष नै राम्रोसँग फल दिएकाले राम्रो आम्दानी हुन्छ भन्ने किसानको विश्वास छ ।’


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।