image
image

अलैंची उत्पादनमा वृद्धि तर किसानले पाएनन् उचित मूल्य ।    

माघ ७,  उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैंची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।     

 कुनै समयमा राम्रो मूल्यमा विक्री हुने गरेको कारण अलैंची खेतीमा हौसिएर जिल्लाका पहाडी क्षेत्रका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैंची उत्पादक किसान निराश बन्न थालेका छन् । विगतका वर्षमा ३ हजारदेखि ३ हजार ५०० रुपियाँ प्रतिकिलो मूल्यमा विक्री हुने गरेको अलैंची अहिले ५०० रुपियाँदेखि ८०० रुपियाँसम्म मात्र भएपछि यहाँका अलैंची उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना छ ।     

 जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, साउने खाँबु, अँधेरी, छामलिङ, आँपटारसहित पश्चिमी पहाडी क्षेत्रको बाहुनीटार, सोरुङ, सिरीसे, हर्देनी, मयङ्खु क्षेत्रका किसानले उत्पादन गर्दै आएको अलैंचीले यसवर्ष उचित मूल्य पाउन नसकेको किसान बताउँछन् ।     
     
 रौतामाई गाउँपालिका–५ आँपटारका अलैंची उत्पादक किसान वीरबहादुर राई आफूले केही वर्षयता आएर उत्पादन गरेको अलैँचीले उचित मूल्य नपाएकामा गुनासो गर्छन् ।     
 जिल्लाका सदरमुकाम गाईघाट तथा मुर्कची बजारका स्थानीय अलैंची खरीदकर्ताले विराटनगर इटहरी क्षेत्रमा अलैंचीको मूल्य घटेको भन्दै अहिले उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अलैंचीको मूल्य प्रतिकिलो ५०० रुपियाँदेखि बढीमा १ हजार रुपियाँ प्रतिकिलो निर्धारण गरेपछि मारमा परेको किसानले  गुनासो गरेका छन् ।     

पहिला अलैंची उत्पादनबाट राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ भनेर व्यावसायिक रुपमा अलैंची खेतीमा लागे पनि वर्षेनी झनै अलैँचीको मूल्य घट्ने गरेको र अलैंची खरीदकर्ताले मूल्य नै दिन छाडेपछि अहिले उदयपुरका अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन् । रौतामाई आँपटारका किसान हर्कधन राईका अनुसार पहिला अलैंचीको मूल्य धेरै राम्रो हुँदा धेरै किसान यसतर्फ आकर्षित भएका थिए ।     

 उनले खोटाङ, भोजपुर सङ्खुवासभाका एक किसानले वर्षमा अलैंची विक्रीबाट करोडौं कमाउँछन् भन्ने सुनेर आफू पनि हौसिएर लागेको राई बताए ।गाईघाटका एक अलैंची खरीदकर्ता सुरेश साहले अनुसार नेपालका धेरै अलैंची विराटनगर हुँदै भारत पैठारी हुने गरेको र भारतीय व्यापारीले मूल्य दिन छाडेपछि विराटनगरका व्यापारीले पनि खरीद गरेको अलैंचीको उचित मूल्य नदिने गरेको कारण पनि आफूहरुले पनि अलैंचीको मूल्य किसानको मागअनुसार दिन नसक्ने बताए । 

 जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा झण्डै ५७ हेक्टर क्षेत्रफलभन्दा बढी जग्गामा व्यावसायिक अलैंचीखेती हुन थालेको छ । चार वर्ष अघिसम्म जिल्लाको पहाडी क्षेत्रका विभिन्न स्थानमा झण्डै २९ हेक्टरमा अलैँचीखेती हुँदै आएको थियो भने अहिले व्यापक विस्तार हुँदै ५५ हेक्टर क्षेत्रफलमा उत्पादन हुन थालेको कृषि ज्ञान केन्द्रका सहायक अधिकृत नरनाथ रेग्मीले बताए ।     

 केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा मुख्य गरेर डम्बरसाई, गोल्छाई र रामसाई जातका अलैंची उत्पादन हुने गरेको छ । किसानले दुःख गरेर उत्पादन गरेको अलैंचीको मूल्य केही बिचौलिया र व्यापारीले निर्धारण गर्ने गरेको र यसमा जनप्रतिनिधि र राज्यको समेत ध्यान जान नसक्दा किसान मर्कामा परेका छन् ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।