image
image

चाडपर्वलाई लक्षित गरेर धमाधम सुन किन्दै व्यवसायी

यो वर्ष २०७८ सालको दुई महिनामै ९ अर्ब ३७ करोड रुपैयाँको सुन भित्रिएको छ । निषेधाज्ञाले जेठमा सुन आएको थिएन भने वैशाखमा व्यवसायीले चाहे जति सुन ल्याउन पाएका थिएनन् । तर, वैशाखदेखि लागेको निषेधाज्ञा खुले लगत्तै व्यवसायीले चाडपर्वलाई लक्षित गरेर धमाधम सुन ल्याउन सुरु गरेका हुन् ।

अहिले बजारमा उल्लेख्य माग नहुँदा पनि व्यवसायीले सुनको अर्डर दिन छाडेका छैनन् । खासगरी, यही भदौको अन्तिममा रहेको हरितालिका तीज, दसैँ/तिहार र त्यस लगत्तै सुरु हुने बिहेको सिजनलाई लक्षित गरेर व्यवसायीले धमाधम सुन स्टक राख्न थालेसँगै सुनको आयात बढेको देखिएको छ ।

भन्सार विभागका अनुसार असार महिनामा सबैभन्दा धेरै ६ अर्ब २१ करोड रुपैयाँ बराबरको ९ लाख ६ हजार ग्राम सुन आयात भएको थियो । यस्तै, साउन महिनामा ४ लाख ५८ हजार रुपैयाँ बराबरको ३ अर्ब १६ करोडको सुन भित्रिएको भन्सारको तथ्याङ्कले देखाउँछ ।

सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले चाडपर्व लक्षित सुन ल्याउन थालिएको जानकारी दिए । उनले बजारमा अहिले खपत नभए पनि अर्डर बढिरहेको बताए । भने, ‘तीजको अर्डर धमाधम आइरहेको छ । तीजको समयमा देशभर दैनिक ३५ किलोसम्म सुन खपत हुन्छ ।’

सोही कारण, सुन व्यवसायीहरूले असार र साउन महिनामा आफूलाई चाहिनेभन्दा बढी सुन थुपारेका हुन् । अध्यक्ष शाक्यले कोभिडको रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण आवश्यकताअनुसारको सुन नआउँदा व्यवसायीले यसअघि राखेको सुन स्टक सकिसकेको बताए । जसकारण, अब अब सुन स्टक राख्नैपर्ने दबाबमा व्यवसायी छन् । 

अहिले सरकारले दैनिक २० किलो मात्र सुन आयातको अनुमति दिएको छ । तर, सिजनको समयमा दैनिक ३५ देखि ५० किलोसम्म सुन खपत हुन्छ । त्यसैले, स्टक नराखे व्यवसायीले सिजनको समयमा अर्डर पुरा गर्नै नसक्ने स्थितिमा आउँछ । यद्यपि, पछिल्ला केही वर्षमा भने कोरोना महामारी र मूल्यवृद्धिका कारण सिजनमै समेत सुनको माग दैनिक ३५ किलोसम्म हुने गरेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मोहनकुमार सुनारले व्यवसायीसँग सुन स्टक नहुँदा धेरै सुन आयात भइरहेको बताए । उनले लामो समयदेखि पर्याप्त मात्रामा सुनको आयात नहुँदा व्यवसायीको गोदाम रित्तिएको कारण असार महिनामा ६ अर्बको सुन भित्रिएको बताए । यस्तै, साउन महिनामा ३ अर्बको सुन भित्रिएकै अनुपातमा वर्षभरि सुन आयात भएमा वार्षिक सुन आयात रकम ३६ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । जबकि, गत आर्थिक वर्ष २०७७÷७८ मा २७ अर्ब हाराहारीको सुन भित्रिएको थियो ।

यससँगै, सरकारले यसअघि दैनिक १० किलो मात्रै सुन ल्याउन दिने नीति लिँदा पनि व्यवसायीसँगको स्टक सकिएको सुनारको भनाई छ । यस्तै, निषेधाज्ञाले वैशाख, जेठ र असारमा रोकिएको बिहे भदौमा हुन थालेको र सो कारणले सुनको मागमा केही वृद्धि भएको समेत सुनारले बताए । अहिले सरकारले दैनिक २० किलो आयात गर्न अनुमति दिए पनि अझै दैनिक १० किलो सुन अपुग नै हुने उनले जानकारी दिए ।

नेपालमा युनाइटेड अरब इमिरेट्स (यूएई) र टर्कीबाट सुन आयात हुँदै आएको छ । जसमा सबैभन्दा धेरै सुन यूएईबाटै आयात हुँदै आएको विभागले जनाएको छ । यसैगरी, नेपालमा वाणिज्य बैङ्कहरूले मात्रै सुन आयात गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।