image
image

बजारमा अस्वभाविक ढंगले बढ्यो खाद्यवस्तुको मूल्यवृद्धि

काठमाडौँ, ३, असोज। बजारमा अस्वाभाविक ढंगले खाद्यवस्तुको मूल्यवृद्धि भएको छ। बढ्दो महँगीले उपभोक्ता मारमा परेका छन्। मौसमी तरकारीदेखि तेल, दाल र चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेकाले भान्सा महँगिएको हो।हरेकको भान्सामा दिनहुँ चाहिने तेल, गेडागुडी र दालको मूल्य अकासिएको छ। तेलमै प्रतिलिटर ९० रुपैयाँदेखि गेडागुडीमा ४० रुपैयाँसम्मको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन्। 

बजारमा अधिकांश वस्तुको मूल्य अकासिएको छ। सबैभन्दा बढी तेलको मूल्य बढेको छ। नेपाल खुद्रा व्यापारसंघको तथ्यांकअनुसार गत भदौमा प्रतिलिटर १ सय ५० रुपैयाँमा पाइने तेलको मूल्य ६० प्रतिशतले वृद्धि भई २ सय ४० रुपैयाँ पुगेको छ।

गत वर्ष भदौमा भुटेको तोरी तेलको मूल्य प्रतिलिटर २ सय ७५ रुपैयाँ थियो। तर, अहिले ८५ रुपैयाँ बढेर ३ सय ६० रुपैयाँ  पुगेको छ। यो वृद्धि गत वर्षको तुलनामा ३०.९१ प्रतिशतले बढी हो। काँचो तोरीको तेल गत भदौमा प्रतिलिटर १ सय ८० रुपैयाँ थियो। अहिले ८० रुपैयाँले बढेर २ सय ६० रुपैयाँ पुगेको छ। यसको वार्षिक वृद्धिदर ४४.४४ प्रतिशत हो। 

सनफ्लावर तेलको मूल्य प्रतिलिटर १ सय ६४ रुपैयाँबाट ८६ रुपैयाँ बढेर २ सय ५० रुपैयाँ पुगेको छ। घिउ र गेडागुडीको मूल्य पनि उत्तिकै महँगिएको छ। डाल्डा घिउ प्रतिलिटरमै ७५ रुपैयाँले बढेर २ सय २० रुपैयाँ पुगेको छ। गत भदौको तुलनामा गेडागुडी किलोमा ३० रुपैयाँदेखि ४० रुपैयाँले वृद्धि भएको छ।  सेतो केराउ प्रतिकिलो १ सय, सानो केराउ १ सय ८० रुपैयाँ र हरियो केराउ प्रतिकेजी १ सय ५० रुपैयाँ पुगेको छ।

यसैगरी राजमाको मूल्य प्रतिकेजी दुई सय रुपैयाँ पुगेको छ। गत वर्षको तुलनामा किलोमा ४० रुपैयाँले बढेको हो। गत भदौमा प्रतिकेजी १ सय ६० रुपैयाँमा राज्मा पाइन्थ्यो।  मस्यौराको मूल्य पनि ह्वात्तै बढेको छ।सुक्खा तरकारीमा प्रयोग हुने मस्यौरा किलोमै ७० रुपैयाँँले बढेर दुई सय रुपैयाँ पुगेको संघले जानकारी दिएको छ।  काठमाडौं चन्द्रागिरिकी प्रमिला ठकुराठी किराना पसल सुरु गरेको करिब डेढ वर्षमा तेलको मूल्य अचाक्ली बढेको गुनासो गर्छिन्।

यता खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्य चाडपर्व नजिकिन थालेकाले महँगी अझै बढ्ने बताउँछन्। मूल्य बढ्नुमा सरकार पनि जिम्मेवार भएको उनको भनाइ छ। सरकारले ठूला पसललाई अनुगमन गर्न नसकेको गुनासो गरे।  तेलको मूल्यवृद्धि अस्वाभाविक रूपमा बढ्नुको कारण उत्पादक भएको उनको दाबी छ। तेल उत्पादन गर्ने करिब २० वटा कम्पनी छन्। तेल उत्पादकहरूले सिन्डिकेट लगाएकाले अस्वाभाविक मूल्य बढेको उनले बताए।


उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना महँगी बढ्नुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण रहेको तर्क गर्छन्। चाडपर्वमा बजारमा बढी कारोबार हुने भएकाले व्यवसायीले चलखेल गर्ने गरेको उनको दाबी छ।केही व्यवसायीहरूले यहीँ बेला नै मौका छोप्ने गर्दा मूल्यमा असर परेको पक्कै हो, उनले भने। मूल्यवृद्धिका कारण खोज्दै सरकार जिम्मेवार भएर  नियन्त्रण गर्नुपर्ने उनले बताए। 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।