नारायणीको बाढीले बगाएको गैँडा सुस्ता पुग्यो, उद्धारको तयारी
असोज १२। चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट नारायणी नदीको बाढीले बगाएको करिब पाँच वर्षको एउटा गैँडा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–४ पुगेको छ।
स्थानीयले आज बिहान गैँडा देखेपछि चितवन राष्ट्रिय निकुञ्जले त्यसको निगरानी तथा रेकी सुरु गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार बाढीले गैँडा बगाएर सुस्तासम्म पुर्याएको जानकारी प्राप्त भएपछि टोली परिचालन गरिएको हो।
निकुञ्जले गैँडालाई उद्धार गरी चितवन ल्याउने तयारी गरेको जनाएको छ। उद्धारका क्रममा गैँडालाई डार्ट गरी बेहोस बनाएर डुङ्गा वा भारतीय बाटो हुँदै सुरक्षित रूपमा नेपाल ल्याउने तयारी गरिएको छ। सुस्ता पुग्न भारतीय बाटोसमेत प्रयोग गर्नुपर्ने भएकाले उद्धारका लागि भारततर्फबाट समेत सहजीकरण भइरहेको निकुञ्जले जनाएको छ।
शनिबार र आइतबार नारायणी नदीमा आएको ठूलो बाढीका कारण नदी तटीय क्षेत्रबाट गैँडा बगेको अनुमान गरिएको छ। बाढी अत्यधिक ठूलो भएकाले केही गैँडा भारतसम्मै पुगेको हुनसक्ने निकुञ्जको अनुमान छ।
यसअघि पनि २०७४ सालको ठूलो बाढीमा राप्ती र नारायणी नदीले बगाएर सुस्ता हुँदै भारतीय भूमिमा पुगेका १२ वटा गैँडाको उद्धार गरी नेपाल ल्याइएको थियो। यस वर्ष पनि बाढीमा बगेका केही गैँडा आफैँ नदीबाट सुरक्षित रूपमा उत्रिएको निकुञ्जले जनाएको छ।
यसैबीच, बाढीमा बगेको एउटा मृगलाई पनि भरतपुर महानगरपालिका–१७ शिसुवारबाट उद्धार गरिएको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।









