image
image

फार्म र डेरीले उकासिएको महिलाका जीवन

इलाम । फाकफोकथुम गाउँपालिका एकतप्पाकी ममता खनाललाई बिहानको रिमरिमभन्दा पहिले नै गोठमा पुग्न बित्छ । बिहानको उज्यालो भुइँमा झर्नुअघि नै गाईवस्तुको थलाभकारा र खोलेको मेल सक्नुपर्छ । उनले सानाठूला गरी ४२ गाईभैँसी पालेकी छिन् । बिहानमात्र होइन, दिनसमेत उनको त्यहीँ गाईभैँसीको स्याहारमै बित्छ । उनले आफूले मात्र सबै काम नभ्याउने छाँट देखिएपछि फार्ममा केही कामदार पनि राखेकी छिन् । घरका प्रायः काम भने उनले नै भ्याउछिन् । गत पाँच वर्षअघि यो फार्म पाँचवटा गाईबाट शुरुआत गरिएको हो ।

उनका श्रीमान् ९सरोज० अर्थोपार्जनका लागि विदेश गएका थिए । सन्तान साना थिए । घरमा साना बच्चाबच्ची हुर्काउने बाध्यता ममताका काँघमा थियो । श्रीमान् घर फर्किएपछि व्यावसायिक तवरले गाई पाल्ने सल्लाह भयो । एकातिर बालबच्चा पढाउनमा समस्या थियो भने अर्कातिर स्वदेशमै केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । वैदेशिक रोजगारीका क्रममा कमाएको रकम लगानी गर्नकै लागि श्रीमान्श्रीमती मिलेर शुरुमा फार्म शुरु गरे । खासै धेरै रकम थिएन । फार्म दर्ता गर्न पाँचवटा गाई चाहिन्छ भन्ने बुझेपछि ऋणपान गरेर त्यति नै गाई किने ।

दिनानुदिन वस्तु पाल्नमा आकर्षण बढ्दै गयो भने आकर्षणसँगै फाइदा पनि । त्यतिकै मात्र पाँचबाट सात, सातबाट नौ गर्दै अहिले पाँच भैँसी र ३० गाईसँगै केही बाच्छा र पाडा छन् । अहिले ममताका श्रीमान्को विदेशिने सोच पनि छैन । उनलाई पनि नयाँ काम गर्नुपर्ला जस्तो लाग्दैन । एकातिर आफ्नै फार्ममा काम हुन्छ भने अर्कातिर डेरी पनि आँगनमै छ । गाउँको दूध भेला पारेर त्यही डेरीमा घीउ र छुर्पी बनाइन्छ । यसका लागि धेरै कसरत पनि गर्नु परेन । घीउ र छुर्पी बनेपछि घरबाटै बिक्छ । ममता र उहाँका श्रीमान्को ५० गाईभैँसी पाल्ने सोच छ ।

आफ्नै बाँझो बारीमा घाँस लाएका छन् । आउँदै निजी नम्बरी जग्गा पनि अहिले सदुपयोग भएको छ । केही वर्षअघिसम्म चिल्ला पहाड लडेको ठाउँमा अहिले धुस, अम्रिसोलगायत घाँसजन्य वस्तु रोपिएको छ । यसैले घाँस खोज्न टाढा जानु पर्दैन । आफ्नै बारीको संरक्षण भएको छ भने गाईभैँसीलाई घाँस पनि । अहिले ममताको डेरी र फार्मबाट मासिक रु ५० हजार आम्दानी हुन्छ । यो रकम विगतमा गाई किन्दा डेरी र गोठ निर्माणमा लागेको खर्च तिर्दैमा सकिन्छ । गाईभैँसी पाल्ने जाँगर बढेपछि बैंककबाट रकम निकालेका छन् । यसको साँवाब्याज पनि तिरिसकिएको छैन । ममताका बारीमा अहिले अलैँची, अदुवालगायत खेती पनि कमै मात्र छ । गाईभैँसी पाल्न घाँस चाहिने भएपछि घरको घुरेनसम्म घाँसै रोपिएको छ । अहिले दम्पतीलाई नै यो पेशाबाट सन्तुष्टि छ । अहिले खासै फाइदा नभए पनि भविष्यमा केही हुन्छ भन्ने विचार छ । ममताले चारजनालाई काम पनि दिएकी छिन् । आफ्नो मात्र नभई यहाँबाट अरूको समेत परिवार पालिएको छ । पछिल्लो समय जिल्लाभर नै भैँसी दुर्लभरुपमा मात्र पालिन्छ । हैरानी हुने भएपछि भैँसीपालन घटेको छ । ममताको फार्ममा भने भैँसी नै भैँसी पालिएको छ । भैँसीको दूधमा चिल्लो पदार्थ गाईको भन्दा बढी हुने भएकाले भैँसी पालेको ममताको तर्क छ ।

धेरै गाईको दूधमा केही भैँसीको दूध मिसाउँदा दूधमा क्रिम राम्रो बस्ने बुझेपछि भैँसीपालन थालिएको हो । डेरी र फार्मको ऋण तिर्न ममतालाई केही समय लाग्छ । तर हिम्मत हारेकी छैनन् । यसैको आम्दानीले छोराछोरी पनि पढिरहेका छन् । निरन्तर काम गरिरहेकाले पनि होला व्यवसाय सहजजस्तो भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।